हिन्दू वैदिक धर्म शास्त्र अनुसार भाद्र कृष्ण औंसीलाई कुशे औंसी भनिन्छ

SC Bureau
7 Min Read

कुशे औंसी अनि कुश सम्बन्धित धार्मिक विश्वास।  

1. ॐ कुलदेवतायै नम:- 21 times 2. ॐ कुलदैव्यै नम:- 21  3. ॐ नागदेवतायै नम:- 21 4. ॐ पितृ देवतायै नम:- 108   पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।  

हिन्दू वैदिक धर्म शास्त्र अनुसार भाद्र कृष्ण औंसीलाई कुशे औंसी भनिन्छ। परम्परा अनुसार आजको दिनम बुवाको मुखहेर्ने र आशीर्वाद ग्रहण गर्ने गरिन्छ। 

यसै दिन बुवालाई मिठा–मिठा परिकारहरु खुवाई वस्त्र प्रदान गरिन्छ भने वुवा पटिका स्वर्गवास् भएका सन्तानहरुलाई श्रद्धा तर्पण गरी पितृलाई स्मरण गर्ने परम्परा रहेको छ। हामी हाम्रा पिता माता तथा गुरुजनप्रति सधैं भक्तिभाव त राख्छौ नै तरपनि यस्ता विशेष दिनमा विशेष प्रकारले स्मरण र श्रद्धाभाव प्रकट गर्ने परम्परागत चलन छ ।  

आजको दिनम कुशलाई घरमा ल्याउनु, नयाँ कुश काटिएको वा उखेलिएको कुशको मान्यता १ वर्ष सम्म रहन्छ ।   कुश के हो ? यसको उत्पत्ति कसरी भयो ? कसरी घरमा ल्याईन्छ र के–के काममा प्रयोग गरिन्छ भन्ने जस्ता विषयमा सम्बन्धित जानकारी हुनु अति आवश्यक हुन्छ। कुश बाहिरी आँखाको हेराइमा खर (उर्लुक) वा शिरुजस्तै एक प्रकारको घाँस हो। तर आध्यात्मिक दृष्टिबाट अतिनै पवित्रतम् वस्तु मानिन्छ। यो तराईभागमा प्रसस्त पाईन्छ भने पहाडी भागमा कम मात्रामा पाईन्छ।  

कुशको फेदमा ब्रह्मा, माझमा विष्णु र टुप्पामा शिवजीको वास हुन्छ भन्ने विश्वास छ। कुशको अभावमा यसको विकल्पको रुपमा काँस, दुबो, जौ, सिरु, सुन, चाँदी, तामा पनि प्रयोगमा ल्याउने प्रचलन छ। यसरी स्नान, जप, तप, होम आदि कार्यमा कुशको प्रयोग गरिने हुनाले हिन्दु वैदिक संस्कृतिमा अद्धितिय स्थान रहेको कुरा छर्लङ्ग हुन्छ। लगनशील, तिष्ण, मेधावी विद्यार्थीको बुद्धीलाई कुशसँग तुलना गरी कुशाग्र बुद्धी भएको उपमा दिइन्छ।  

ऐतिहासिक महत्व:   वराहरुपी विष्णुले पृथ्वीको उद्दार गरेपछि यज्ञबराहको रुपमा प्रार्थना गर्दा रौं लाई नै कुशको रुपमा मानेको विश्वास छ भने कतै विष्णुले समुन्द्र मन्थन गर्दा कुशको उत्पत्ति भएको हो भन्ने धारणा पनि रहेको र्पान्छ। यस्तै वृन्दाको श्राप पुरा गर्न भागवान बिष्णुले कुशको रुप धारण गर्नु भएको व्यहोरा श्री स्वस्थानी ब्रतकथा प्रसङ्गमा पाइन्छ ।  

अर्को प्रसङ्गमा बिरन्तीना सहोत्पन्न मन्त्र अनुसार सृष्टिकर्ता ब्रह्माजीका साथसाथै कुशको पनि उत्पत्ति भयो भन्ने मान्यता छ । यसरी अलौकिक शक्तिद्वारानै कुशको उत्पत्ति भएको हो भन्ने कुरा स्पष्ट रुपमा बुझ्न सकिन्छ।   कुश घरमा ल्याउने यस पवित्र दिनमा सबेरै उठी, स्नान आदि कर्म सम्पन्न गरी सुद्ध, सफा सेतो वस्त्र लगाई कुश भएको ठाउँमा गई ’ॐ को मन्त्र उच्चारण गर्दै कुशलाई स्पर्श गर्ने र सँगै लगेको जौ, तिल, चन्दनले पुजा गर्दै यस मन्त्रले प्रार्थना गर्ने चलन छ ।  

बिरन्तीना सहोत्पन्न परमेष्ठिनीसर्जन । नुद सर्वाणि पापानि दर्भ ! स्वस्तिकरो भव ।   कुश उखेल्ने वा काट्ने प्रसङ्गमा फरक–फरक बुझाइ रहेको पाइन्छ । नित्यकर्म–पूजाप्रकाश भन्ने पुस्तकको कुशोत्पाटन–विधि (पेज ४३) मा कुश उखेल्ने विधिलाई स्पष्ट पारेको छ । पितृकार्यका लागि जरै सँगको कुश चाहिने हुँदा यसका लागि कुश उखेल्नु नै श्रेय हुन्छ। कसैले यस्तो कुश पितृ कार्यकै दिनमा उखेली प्रयोग गरेको पाईएको र धेरैले कुशे औंशीका दिन जरै सहित उखेलेको कुश प्रयोग गर्ने गरेको पाइन्छ ।  

कतैकतै फेदैदेखि काटिएको कुशलाई पनि प्रयोगमा ल्याएको पाइन्छ । श्राद्धको पिण्ड पूजा गर्ने क्रममा शुद्ध माटो माथि जरा सहितको कुश, त्यसमाथि पातमा पिण्ड राखी पुजा गर्ने चलन छ । कुश पितृतिर्थ (बुढीऔंला र चोर औंलाको बिच)बाट उखेल्नु पर्छ । यसलाई व्यवहारिक उदाहरणको रुपमा मकैको बोट उखेल्दा झैं गरी उखेल्ने भनेर बुझ्न सकिन्छ। यसरी उखेल्दा ‘हुँ फट्’ भन्ने मन्त्र उच्चारण गर्ने चलन पनि रहेको पाईन्छ ।   कुश उखेल्न वा काट्न बस्दा पूर्व वा उत्तरतर्फ फर्कने चलन पनि छ। कुशबाट यज्ञ यज्ञादिलाई आवश्यक पर्ने वस्तुहरुमा औठी –पवित्र), ब्रम्हपवित्र, मोटक, तीनकुशे, ब्रम्हकुशाआदि बनाइन्छ। कर्मपात्र तथा कुशाशनको लागि प्रयोग गरिनेकुशका टुक्राको लम्बाईचार अंगुल हुनुपर्ने कुराहरु जानकारहरु बताउँदछन् ।  

कुश प्रयोगमा आउने धेरै कर्महरु छन्, ती मध्ये केहीलाई यसरी स्मरण गर्न सकिन्छ। कुनै ब्राह्मणलाई दानदिनु पर्यो तर उनको अनुपस्थिति भएमा उनको प्रतिनिधि पात्र स्वरुप कुशको ब्राह्मण बनाई तहीँ दान दिएर ब्राह्मणका हातमा पुर्याउने चलन छ । त्यस्तै आफ्ना स्वर्गीय वृद्धवृद्धा बुवाआमा तिर्थमा जान ईच्छा प्रकट गर्नु भएको तर जान नसकेको अवस्थामा उहाँहरुको स्मरण गर्दै कुश लिएर तिर्थमा स्नान गर्यो भने उहाँहरुको तिर्थस्नानको ईच्छा पुरा हुन्छ भन्ने विश्वास रहीआएको पाईन्छ ।  

बाढी पहिरोमा वा खोलानालामा परी लास प्राप्त गर्न नसकिएका वा सय वर्ष भन्दा बढी समय देखि हराई सम्पर्कमा नआएका आफ्ना स्वजनहरुको क्रिया गर्नु परेमा तिनको मनुस्याकृति (पुत्ला) बनाई दाहसंस्कार गर्ने चलन छ। यस्तो पुत्लामा पनि कुशको प्रयोग गर्ने चलन रहेको पनि पाईन्छ ।  

कुनै अनुष्ठानमा सरिक भई काम गर्नुपर्दा शिखा बन्धन गर्न मिल्ने टुप्पी भएन भने दाहिने कानमा कुश झुण्डाई शिखाको काम लिने गरिन्छ । कपास, लुगा कपडा त्यागेका योगी तपस्वीहरु कुशबाट नै जनै तथा अनन्त निर्माण गरी धारण गर्ने गरेको पाईन्छ। दाह्री कपाल खौरनु पर्ने काममा यसरी खौरन अनुकुल नभएको खण्डमा कुशको पात डुलाई (कुशले काटी) खौरने कार्य पुरा भएको मानिन्छ ।  

यसरी हाम्रो संस्कृतिमा कुशको प्रयोग विभिन्न काममा गरिन्छ । कुश सत्वगुणको प्रतिक पनि मानिन्छ । यसको धारणबाट सत्गुणको वृद्धी हुन्छ भन्ने विश्वास छ । कुशको औंठी लगाई कुश मिसिएको गुन्द्रीमा बसी जप तप आदि अनुष्ठान कार्यमा सरिक हुँदा उर्जा शक्ति घनिभूत भई अनुष्ठान कर्ताको वरीपरीनै रहने हुँदा उर्जाशील ब्यत्तित्व निर्माणमा सहयोग पुर्याउँछ भन्ने मान्यता छ । कुश सफा शुद्ध ठाउँमा उम्रेको र सर्लक्क परेको हुनु पर्दछ । कुश घरमा ल्याईसके पछि हल्का सुकाई जतनसाथ प्राकृतिकपन नजाने गरी संरक्षण गर्नु पर्दछ र अझ किलो (सहजै पहुच नहुने) ठाँउमा राख्नु पर्दछ । पितृकार्यमा प्रयोग भएको जरासहितको कुश कहिं कतै सहर्न (उम्रन) नपाओस् भनी अग्नीमा जलाईदिनु पर्छ। भगवती नारायणीले ब्रह्माणी स्वरुप धारण गरी कुश मिश्रित जल छर्केर रक्षा गरेको कुरा शप्तसती चण्डीमा पाइन्छ। 

माता-पिता, पितृहरूको आशीर्वाद हामी सबैम सदैव रहि रहोस।        

By Dr. R. B. Biswakarma.  

Reference: Nepali & Hamro Patro.

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *