वरिष्ठ पत्रकार गंगा बहादुर राईको निधनप्रति प्रेस क्लब अफ् सिक्किमद्वारा गहिरो शोक प्रकट

SC Desk
2 Min Read

प्रेस विज्ञप्ति

प्रेस क्लब अफ् सिक्किम 

गान्तोक, सिक्किम। 

वरिष्ठ पत्रकार गंगा बहादुर राईको निधनप्रति प्रेस क्लब अफ् सिक्किमद्वारा गहिरो शोक व्यक्त   सिक्किमका वरिष्ठ पत्रकार गंगा बहादुर राईको निधनप्रति प्रेस क्लब अफ् सिक्किम गहिरो शोक प्रकट गर्दछ। उनको निधनले आज सम्पूर्ण सिक्किमेली पत्रकारिता जगत स्तब्ध बनेको छ। उनी ६८ वर्षका थिए। पत्रकार गंगा बहादुर राईको निधनले  सिक्किमेली पत्रकारिता जगतमा अपूरणीय क्षति पुगेको प्रेस क्लब अफ् सिक्किम ठहर गर्दछ। पत्रकार गंगा बहादुर राईले सन्  १९८४ देखि आफ्नै सम्पादनमा “दर्पण” नेपाली साप्ताहिक समाचार-पत्रबाट पत्रकारिताको यात्रा शुरू गरेका थिए। 

९०-को दशकमा “दर्पण” नेपाली साप्ताहिक समाचार- पत्रमा  बजारको हल्ला स्तम्भले पाठकहरूको मन जित्न सफल बनेको थियो भने सो पत्रिका त्यस समय अधिक मात्रामा बिक्री हुने पत्रिका बनेको थियो। पछिबाट पत्रकार गंगा बहादुर राईले उक्त साप्ताहिक समाचार पत्रलाई वर्ष २००८-देखि “सिक्किम दर्पण” नामाकरण गरेर दैनिक रूपमा प्रकाशित गरेका थिए।

८०-को दशक अवधि सिक्किममा औंलामा गनिने पत्रकारहरू थिए। त्यसबेला पत्रकारहरूका निम्ति अहिले जस्तो उपयुक्त संसाधनहरू थिएन। यस्तो परिस्थितिमा पनि स्वर्गीय राईले आफ्नो समाचार-पत्रलाई नियमित रुपमा प्रकाशित गरेर सिक्किमेली पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुराएका थिए। पत्रकार गंगा बहादुर राईले आफूपछि धर्मपत्नी अनि चार छोरी र एक छोरालाई छोडेर गएका छन्।  दुःखको यस घडीमा शोकसन्तप्त  परिवारप्रति प्रेस क्लब अफ् सिक्किम गहिरो समवेदना प्रकट गर्दछ।                          

सञ्जीब तामाङ                             

प्रचार सचिव

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *