एसडिएफ पार्टीका वयोवृद्ध कृष्ण खरेल राजनैतिक आत्मा छिनेका व्यक्ति हुन : शितल सोताङ

SC Desk
4 Min Read

 केही दिन अघि एसडिएफ पार्टीका वयोवृद्ध कृष्ण खरेलको एउटा हिन्दी दैनिक समाचार पत्रमा प्रकाशित बयान पढ़ेपछि दुइचार कुरा लेख्न मन लाग्यो । पच्चीस वर्षको राजनीतिमा दर्जनौं मान्छेको हत्या गरेर सन्तुष्टि नमिलेको एसडिएफ पार्टीलाई दुई वर्ष मात्रै पनि बिताउन कठिन परेको देख्दा अचम्मै लाग्छ । वर्तमान सरकारले गरेको काम र चालेको पाइलामा जनताको विश्वास बडेको देखेर एसडीएफ पार्टी आत्तिनु स्वाभाविक नै हो । पच्चीस वर्षको तुलनामा एसकेएम पार्टीको सरकारले दुई वर्षमा नै बिकासको क्षेत्रमा चुनौती दिएकोले एसडिएफ पार्टीका दुइचार जना भरौटेहरु पवन चाम्लिङको सास बनेर बोल्नु आत्माले नमाने पनि मल्खुको सोझो बनेका मात्रै हुन भन्ने सबैलाई थाहा छ । अँध्यारो कोठाभित्र कालो बिरालोको घुराइमा अबको समाज बिश्वास गर्दैन भन्ने कृष्ण खरेलले बुझेको राम्रो । पच्चीस वर्ष सत्ता चलाएको एसडिएफ पार्टीले गरेका हत्या , मारपिट , निर्दोषहरुमाथिको आक्रमण , विपक्षीका भनेर दिउँसै सल्काइएका गाडीहरूको इतिहास कृष्ण खरेलमा यदि सिक्किम र सिक्किमेप्रति अलिकति भावना छ भने फर्केर हेरुन् ।  

हामीले यो छोटो समयमा सिक्किमे समाजले कस्तो अवस्थामा जीवन गुजार्न बाध्य थिएछन देख्यौं । र पच्चीस वर्ष चाम्लिङको ढिकुटीले प्रदान गरेको कालो चश्माले सिक्किमे समाज नदेख्ने खरेललाई त्यो चश्मा खोलेर एकपटक सिक्किमका सुदुर कुनाहरुमा गएर एसडिएफ सरकारका जग्गरेहरुले कसरी गरिबहरुलाई थिचेर , मिचेर र सताएर राखेका थिएछन हेरुन भन्ने सल्लाह राख्छु ।

        चाम्लिङलाई मख्खनबाजि गर्न जसरी खरेल र दुइचारजना बेलाबेला प्रेस कन्फरेन्स गर्दैछन त्यो उनिहरुको रहर नभएर बाध्यता हो भन्ने हामी बुझ्छौं । यी राजनैतिक आत्मा छिनेका व्यक्तिहरु चिनी खाएर नुन चर्को भएको अभिनय गर्न कत्ती सिपालु छन भन्ने पनि हामीलाई मात्र होइन सिक्किमे समाजलाई राम्ररी थाहा छ । आफु खोलो तरेपछि लौरो बिर्सिने एसडिएफ पार्टीका कृष्ण खरेलले लाखौंको सोफामा बसेर गरिबको सहारा बनेको एसकेएम पार्टीलाई गाली र दोष नलाए हुन्छ । विगत त्यही एसडीएफ  शासनको विरुद्धमा बोल्ने मिचुङ्ग भुटियालाई मनपरि गाली दिने पवन चाम्लिङ लगायत कृष्ण खरेलहरु जस्ता धेरै एसडिएफका तित्रा मुखेहरुले आज रंग फेरेर त्यही मिचुङ भुटियाको सिफारिस बोक्दै  एसकेएम पार्टीमाथी खनिन खोज्नु उनिहरुको राजनीति सकिएको प्रमाण हुन्छ । एसकेएम पार्टीले सरकार बनाएपछि छिमेकीलेसम्म पत्याउन छोडेका कृष्ण खरेल र एकाध फिस्टाको प्वाँख जस्तो राजनीति गर्ने एसडिएफका बाबैहरुलाई आज हामीले मन नमाने पनि जवाफ दिन कर परेको छ । 

       सिक्किमे सिङ्गो समाज तोडेर राजनीति गर्न पुगेका पवन चाम्लिङलाई जाती बिभाजन गरेर राजनीति गर्नु हुँदैन भन्नसम्म नै नसक्ने खरेलले आज तोडिएको सिक्किमे समाज जोड्न अघि आएको वर्तमान सरकारलाई खरेलको बयानले केही उक्काउला भन्ने नलागे पनि हजुर बाउ जस्तो व्यक्तिको तर्क देखेर एउटा सानो सुझाउ राख्न खोजेको मात्रै हो । पुर्व सरकार एसडिएफ कालमा सिक्किममा अस्सी प्रतिशत भन्दा ज्यादा जनसंख्या अत्याचारबाट , शोषण र दमनबाट , पीडा र कष्टबाट पीडित थिए । अझै पनि प्रशासनको लगाम उनीहरुकै हातमा होस ठान्ने कृष्ण खरेल जस्ता दुइचारजना एसडिएफकाहरुले अब राजनीतिबाट सन्यास लिए ठिक होला ठान्छु । बिरोध र विद्रोहको पनि परिभाषा हुन्छ भन्ने नबुझेका कृष्ण खरेललाई  यदि राजनीति गर्ने नै भए युग बुझेर  गर्ने सल्लाह दिन चाहान्छु र सबै मान्छे बूढो भए नि अनुभवबाट भने धेरै पछाडि पनि हुँदो रहेछन भन्ने कृष्ण खरेलको बयानबाट पुष्टि भएको लाग्यो । सासै नगै मान्छे मरेको पोस्टरिङ्ग गर्ने एसडीएफलाई सम्झुन खरेलले । राजशासनपछि फेरि गरिब मारा मण्डल उत्पादन गरेर गाउँ सताउने एसडिएफ सरकार कालको शासन सम्झुन कृष्ण खरेलले  । आज सरकारबिहिन राज्य  छ या त्यो बेला थियो एकपटक छातीमा हात राखेर कृष्ण खरेललाई सोच्ने सल्लाह दिन्छु ।

शितल सोताङ (राई)
सचिव, प्रचार प्रसार
सिक्किम क्रान्तिकारी मोर्चा

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *