मेजर दुर्गा मल्लको 78 औं बलिदान दिवस संसद परिसरमा पालन

SC Desk
3 Min Read

*सांसद राजु बिष्टको कार्यालय

प्रेस विज्ञप्ति

२५ अगस्ट, २०२१

आज, म लगायत रक्षा राज्यमन्त्री एवं पर्यटन राज्यमन्त्री श्री अजय भटज्यू, राज्यसभा सांसद एवं भाजपा मुख्य प्रवक्ता श्री अनिल बलूनीज्यू, भारतीय गोर्खा परिसंघका राष्ट्रीय अध्यक्ष श्री मुनिष तामाङ्गज्यूको नेतृत्वमा परिसंघका प्रतिनिधिहरू, श्री सन्दीप रानाज्यू अनि दिल्ली-राष्ट्रीय राजधानी क्षेत्रका अन्य गोर्खाहरूले इण्डियन नेशनल आर्मी (INA) का मेजर दुर्गा मल्लको ७८औँ बलिदान दिवस संसद परिसर  पालना गऱ्यौँ।  

भारत निरन्तर चलिरहेको सभ्यताका साथ प्राचीन देशहरूमध्ये एक हो। शहीद मेजर दुर्गा मल्लज्यू जस्ता बहादुर सुपुत्रहरूको बलमा हाम्रो राष्ट्र र सभ्यता असंख्य शत्रुहरूको मुकाबिला गर्दै निरन्तर अगाड़ि बढ्न जारी छ।   मेजर दुर्गा मल्लको जन्म १ जुलाई १९१३ मा हाल उत्तराखण्डको देहरादून जिल्लाअन्तर्गत पर्ने डोइवाला गाउँमा भएको थियो। इण्डियन नेशनल आर्मीको गठनमा उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो, अनि अनेकौँ युवाहरूलाई INA मा भर्ती हुन उत्प्रेरित गर्नुभएको थियो। उहाँलाई आजाद हिन्द फौजकालागि गोप्य सूचनाहरू एकत्रित गर्ने जिम्मा दिइएको थियो।

नेताजी स्वयंले दुर्गा मल्ललाई मेजरको पदमा प्रोन्नत गर्नुभएको थियो।    दुर्भाग्यवश, मणिपुरको उखरुलमा  शत्रु शिविरहरूभित्र जासूसी अभियानको बेलामा उहाँलाई २७ मार्च १९४४ का दिन ब्रिटिश सैनिकहरूले गिरफ्तार गरेका थिए।  गिरफ्तारीपछि मेजर मल्ललाई एक युद्धबन्दीको रूपमा नयाँ दिल्लीको लाल किला स्थित झ्यालखानामा थुनिएको थियो। ब्रिटिशहरूले उहाँलाई स्वतन्त्रता सङ्ग्रामविरुद्ध बोल्न लगाउने प्रयास गरे, र यसो गरेमा फाँसीको सजाय फिर्ता लिने प्रलोभन समेत दिए। तर उहाँले ठाड़ै अस्वीकार गर्नुभयो। बरू, उहाँले आफ्नी पत्नीलाई भन्नुभएको कुरा इतिहासमा दर्ज छ।

उहाँले भन्नुभएको थियो, “शारदा, म आफ्नो मातृभूमिको स्वतन्त्रताको लागि मेरो जीवन बलिदान गर्दैछु। तिमीले चिन्ता गर्नु पर्ने र निराश हुनु पर्ने आवश्यकता छैन। म फाँसी चढ़ेपछि करोड़ौँ हिन्दुस्तानीहरू तिम्रो साथमा हुनेछन्। मेरो बलिदान, व्यर्थ जाने छैन। भारत स्वतन्त्र हुनेछ। मलाई पूर्ण विश्वास छ, यो केही समयको मात्रै कुरो हो।”   २५ अगस्ट १९४४ मा ब्रिटिश शासनले उहाँलाई दिल्लीको त्यस स्थलमा फाँसीमा झुण्ड्यायो जहाँ आज मौलाना आजाद मेडिकल कलेज स्थित छ।  

उहाँलाई फाँसी दिइँदा उहाँ ३१ वर्षका हुनुहुन्थ्यो, तर उहाँ अमर हुनुभयो।   हाम्रा महान स्वतन्त्रता सङ्ग्रामीको स्मृतिमा आजको दिनलाई भारतभरका गोर्खाहरूले एक गौरवान्वित जातिको रूपमा एकसाथ मिलेर “बलिदान दिवस”-को रूपमा पालना गर्दछन्।  हाम्रा गोर्खा योद्धाहरूको पिँढ़ी दर पिँढीले हाम्रो मातृभूमिको सुरक्षा निम्ति आफ्नो प्राणको आहुति दिँदै आएको छ।

स्वतन्त्रतापछि कुनै यस्तो एक दिन गुज्रेको छैन जब गोर्खा सैनिकहरूलाई आफ्नो मातृभूमिको सुरक्षाका लागि बहादुरीको पुरस्कारले सम्मानित नगरिएको होस्। हाम्रा यी सबै वीर गोर्खा सैनिकहरूले हाम्रा महान देशभक्त शहीद दुर्गा मल्लकै पदचिह्नको अनुसरण गरिरहेका छन्।

म सबैजनालाई, विशेषगरि हाम्रा युवाहरूलाई यस्तै देशभक्तिपूर्ण भावना अनि हर छेत्रमा सर्वोत्कृष्टता हासिल गर्ने लक्ष्यका साथ कड़ा मेहनत गर्न आह्वान गर्दछु ताकि हामी हाम्रा शहीदको विरासतलाई सम्मान गर्दै अगाड़ि बढ्न सकौँ।     जय हिन्द, जय गोर्खा 

राजु बिष्ट

लोकसभा सांसद,

दार्जीलिङ्ग एवं

राष्ट्रीय प्रवक्ता,

भारतीय जनता पार्टी

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *