एस के एम सरकारले आफ्नो स्वार्थी राजनीतिक दाउपेचमा राज्यका विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गरेको छ : एसडीएफ

Sherab Palden Bhutia
2 Min Read

वर्तमान राज्य सरकारको एकतन्त्री कार्यप्रणाली र स्वार्थी राजनीतिक दाउपेचको कारण अहिले विशेष रूपमा राज्यका विद्यार्थीहरू धेरै प्रताडित बनेका छन्‌। स्कूल, कलेजहरू समयमा सुचारु रूपले सञ्चालन नभएकोले विद्यार्थीहरूले समयोचित शिक्षार्जन गर्न पाउन सकिरहेको छैनन्‌। यो अत्यन्त चिन्ताको विषय हो। 

एसकेएम सरकारले आफ्नो स्वार्थी राजनीतिक दाउपेचमा राज्यका विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गरेको छ। यसको हामी घोर निन्दा गर्दछौँ। न्याय खोज्न आन्दोलनमा उत्रिएका आन्दलनरत नयाँ अस्थायी शिक्षकहरूको आन्दोलन दबाउनलाई राज्य सरकारले धोकाधड़ी गरी विश्वविद्याल्य, कलेज र सम्पूर्ण शैक्षिक संस्थानहरू ३१ अक्टोबरसम्म बन्द गरिने नोटिफिकेसन गत ११सेप्टेम्बरको दिन जारी गर्‍यो।

अस्थयी शिक्षकहरूको आन्दोलनलाई शिक्षक-शिक्षकहरूमा विभाजन नीति र राजनीतिक दाउपेचको प्रयोग गरेर पूर्ण रूपले बन्द गराउनु सरकार सफल बन्यो। अस्थायी शिक्षकहरूको आन्दलन कुनै न्यायसंगत परिणाम प्राप्त नगरि पूर्ण रूपले स्थकित भएको दुई दिन नबित्दै राज्य सरकार अधिनस्त शिक्षक विभागले १३ सेप्टेम्बरको दिन कलेज र उच्च शैक्षिक संस्थानहरू खोलिने अर्को नोटिफिकेसन फेरि जारी गर्‍यो। दुई दिन अघि कोरोनाको बहाना देखाएर बन्द गरिएको कलेज र शैक्षिक संस्थानहरू अस्थायी शिक्षकहरूको हड्ताल स्थकित भए लगत्तै पुनः खोलिने सरकारको निर्णय कतिको विद्यार्थीमुखी छ त? शैक्षिक संस्थानहरू बन्द गरिने र खोलिने राज्य सरकारको अस्थिर निर्णयमा शिक्षकहरूको आन्दोलन दबाउने उद्देश्य लिप्त रहेको कुरा छलङ्ग भएको छ।

यसरी एकातिर विद्यार्थीहरूको भविष्यसँग सरकारले खेलवाड़ गरेको छ भने अर्कोतिर शिक्षकहरूलाई विल्लीबाठ बनाएको छ। सरकारको यस्तो मनमानीपूर्ण क्रियाकलाप तथा व्यवहार अप्रजातान्त्रिक र जनताविरोधी रहेको एसडीएफ पार्टी ठहर गर्दछ। यदि कोभिड महामारीले नै विद्यालय बन्द गर्नु पर्ने अवस्था आएको हो भने जुन एरियामा कोभिड संक्रमण भएको छ त्यहाँ कन्टेनमेन्ट जोन घोषणा गरेर अन्य विद्यालय सुचारु रूपले चलाउन सकिन्थ्यो। तर एसकेएम सरकारलाई न त विद्यार्थी नत शिक्षक कसैको पर्वाह नभएपछि यस्तो तुगलकी फरमान गरेर व्यवस्थालाई चौपट बनाएको छ। 

हामी जिम्मेवारीको साथ सरकारलाई यो सुझाव दिँदछौँ कि, सिक्किमे विद्यार्थी नानीहरूको भविष्यलाई ख्यालमा राखेर सबै शिक्षण संस्था तुरून्त खोलेर कोभिड प्रोटोकललाई पालन गराउँदै पढ़ाई चालु गर्नुपर्छ। बोर्ड परीक्षामा कोर्स पूरा हुन नसकेको कारण हाम्रा सिक्किमे विद्यार्थी नानीहरूले समस्या झेल्नु नपरोस्‌ भन्ने सरकारको उद्देश्य हुनुपर्छ भन्ने हाम्रो ठम्याई छ।   

कृष्ण खरेल  उपाध्यक्ष,

प्रचार-प्रसार मामिला  

एसडीएफ।   

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *