एस डी एफ पार्टीका सहयोद्धाहरुले कजका लागि राजनिति गर्नु पर्छ अनि निडर र साहसी बन्नु पर्छ — पवन चामलिङ

SC Desk
4 Min Read

प्रेस विज्ञप्ति
 
आज एसडीएफ पार्टीले ३०औं क्रान्ति दिवस भर्चुअल रूपमा पालन गऱ्यो। कोरोना महामारीलाई मध्यनजर राख्दै आयोजित यस भर्चुअल कार्यक्रममा पार्टीका चारै जिल्लाका पदाधिकारीगण तथा एसडीएफप्रेमीहरू जोड़िएका थिए।
   ३०औं क्रान्ति दिवसको ऐतिहासिक पर्वको उपल्यक्षमा एसडीएफ पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री श्री पवन चामलिङले सम्पूर्ण सिक्किमे जनतालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। आफ्नो सम्बोधनको क्रममा उहाँले क्रान्तिको सान्दर्भिकतामाथि प्रकाश पार्नु हुँदै एसडीएफ पार्टीले सिक्किम र सिक्किमे जनताको पक्षमा ल्याएको क्रान्तिको महत्त्वलाई बुझाउनु भयो। यही प्रसङ्‌गमा उहाँले सिक्किमको ऐतिहासिक घटनालाई उठान गर्नुहुँदै एसडीएफ सरकार आउनअघि राज्यवासीले प्रजातान्त्रिक अधिकारलाई उपभोग गर्न नपाएको तथा जनता शासित बनेर बाँच्न परेको सत्यतालाई साझा गर्नुभयो। एसडीएफ पार्टीको क्रान्तिको उद्देश्य नै सिक्किममे जनतालाई शान्ति, सम्मान, हक-अधिकार दिनु रहेको तथा सम्पूर्ण सिक्किमे जनता शासक बनेर बाचोस्‌ भन्ने हो उहाँले भन्नु भयो।
   यसबाहेक पार्टी अध्यक्ष श्री पवन चामलिङले आफ्नो सम्बोधनमा २२ जूनका दिन आफू भूमिगत हुनुपरेको विषयलाई अवगत गराउनुहुँदै आफूले सधैं कज्का निम्ति राजनीति गरेको, सिक्किम र सिक्किमे जनता सधैं हाँसून् र सिक्किम सधैं बाँचोस्‌ भनेर राजनीति गरेको, आफू सधैं सिक्किमे जनताको सपनासँग जोड़िएको मान्छे हो भन्नुभयो। सिक्किमे जनताको पहिचान र मर्यादालाई सम्मानित राख्न, विकसित सिक्किम बनाउनु आफ्नो राजनीतिक कज् रहेको बताउनुभयो। आफूले सिक्किमको कज्सँग कहिल्यै सम्झौता नगरेको पनि उहाँले बताउनुभयो। यसरी नै उहाँले सम्पूर्ण युवा वर्गलाई सिक्किम र सिक्किमे समाज, मानव समाज तथा विश्वलाई केही दिएर जानुहोस्‌ भनी युवा वर्गलाई आग्रह गर्नुभयो। राजनीति महत्त्वाकाङ्‌क्षा पूरा गर्ने माध्यम नभएर राजनीति जनाकाङ्‌क्षा पूरा गर्ने क्रान्ति हो, उहाँले भन्नुभयो। यसरी नै उहाँले क्रान्ति भनेको सबै अन्धकारलाई मेटाउने, सबै सङ्‌कीर्णतालाई हटाउने, भौतिक र मानसिक विकारहरूलाई धुलिसात गर्ने उज्यालो ज्योति हो, सिक्किमे जनतालाई साँचो बाटो देखाउनु क्रान्ति हो भन्नुभयो।
३० औं क्रान्ति दिवसको भर्चुअल कार्यक्रममा सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्षले आफूले जीवनको ४० वर्षको प्रमुख समय सिक्किम र सिक्किमे जनतालाई समर्पित गरेको बताउनुहुँदै आफूले सिक्किम बनाउन र सिक्किमे जनताको हक, अधिकारको सुरक्षाका निम्ति गरेको सङ्‌घर्षलाई पनि साझा गर्नुहुँदै एसडीएफ पार्टीको क्रान्तिको आधार नै सिक्किम र सिक्किमे जनतका हक-अधिकारको सुरक्षा रहेको बताउनुभयो। यसका साथै उहाँले सिक्किमले प्राप्त गरेको समृद्धि, मान, सम्मान र प्रतिष्ठा सबै एसडीएफ पार्टीले गरेको क्रान्तिको प्रतिफल हो भन्नुभयो।
   सम्बोधनको क्रममा उहाँले पवित्र क्रान्तिले समेटेको दर्शनलाई प्रकाश पार्दै पवित्र क्रान्ति भनेको प्रकृतिको नियमलाई पालन गर्नु हो; जन्मदेखि मरणसम्मको यात्रालाई सहज बनाउन, खुशी, आनन्द, शान्तिले पूर्ण बनाउन तथा मानिसलाई भित्रदेखि उज्यालो बनाउनु पवित्र क्रान्ति हो; मान्छेलाई मान्छेजस्तो बनाउनु, मान्छेभित्र हराएको मान्छेलाई खोज्नु पवित्र क्रान्ति हो भन्नुभयो।
   ज्ञानसम्मत् विचार र दर्शनले समृद्ध सम्बोधन दिने क्रममा पार्टी अध्यक्षले आज एसडीएफ पार्टीका सहयोद्धाहरूलाई कजका लागि राजनीति गर्न निडर र साहसी बन्ने अपील गर्नुभयो।
    आजको कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्षगण श्री के.एन. राई, श्री जी.एम. गुरुङ र श्री दाउछो लेप्चाले पनि क्रान्ति दिवसको महत्त्वसँगै पार्टीप्रतिको आफ्नो मन्तव्य राख्नुभयो। यसका साथै एसडीएफ पार्टीका युवा सहयोद्धा श्री वीरजन तामाङ, सुश्री मनमाया गजमेर, श्री अर्जुन छेत्री, श्री साङ्‌गे भोटिया, सुश्री बन्दना भट्टराई, श्री जीवन सुब्बा आदिले पनि आफ्ना मन्तव्य राख्नुभयो। कार्यक्रमा उत्तर जिल्ला चेली मोर्चा महासचिव श्रीमती कर्म अङ्‌मु भोटियाले स्वागत भाषण, पूर्व जिल्ला कार्यकारिणी समिति अध्यक्ष कर्म टाशी भोटियाले धन्यवाद ज्ञापन गर्नुभयो भने कार्यक्रम मोडरेटर प्रशासनिक मामिला महसचिव श्री आमोस आर लेप्चाले गर्नुभयो।
 
 
 
   कृष्ण खरेल
   महासचिव, प्रचार-प्रसार मामिला
   एसडीएफ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *